नेभिगेशन
सशस्त्र प्रहरी

मधेशबाट २७ करोडभन्दा बढीको अवैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्ट्स तथा कस्मेटिकलगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ।

त्यस्तै, सोही अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको १ हजार १ सय क्यूफिट काठ बरामद गर्नुका साथै १ सय २ ग्राम चाँदीसमेत बरामद गरेको छ। साथै, उक्त कार्यमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।

मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार कार्यलाई समेत सशस्त्र प्रहरी बल नेपालले कडाइ गर्दै आएको छ। तीन महिनाको अवधिमा ब्राउन सुगर १ सय ९३ ग्राम, चरेस ९ किलो ५ सय ग्राम र गाँजा १ हजार ६ सय ६ किलोभन्दा बढी बरामद गरेको छ।

त्यस्तै, सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर, २ थान भरुवा बन्दुक तथा सोका राउन्ड र बारुदसमेत बरामद गरेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने मानव बेचबिखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ।

वर्तमान सरकारको नीति निर्देशनअनुरूप मधेश प्रदेशको शान्ति, सुरक्षा तथा सुशासन कायम राख्न सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरी–तस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ।

साम्प्रदायिक प्रदर्शन, बलात्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी परिचालनका क्षेत्रमा थप संयमित भएर काम गर्दै आएको छ।

संगठनको नीति निर्देशनलाई अक्षरशः पालना गर्दै मधेश प्रदेशस्थित जिल्लाहरूको सीमा सुरक्षामा थप सक्रिय भई परिचालन भएको आभास आम नेपाली सर्वसाधारणसम्म पुगेको छ। सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुका साथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरहरूको मर्मतसम्भार गर्दै आएको छ।

दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रमण रोक्ने तथा अतिक्रमित क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय गरी सहजता अपनाउँदै आएको छ। नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन तथा सीमा अपराध नियन्त्रणमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाइहरू थप सक्रियताका साथ जुटेका छन्।

सशस्त्र प्रहरीले मधेश प्रदेशस्थित विभिन्न नदीजन्य ठाउँमा उत्खनन गर्ने कार्यमा संलग्न २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र २ वटा जेसीबीसमेत नियन्त्रणमा लिएको छ।

मनसुनको समय सुरु भएदेखि सशस्त्र प्रहरीले विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। विभिन्न घटनामा परेका २ सय ११ पुरुष र ६३ जना महिला गरी २ सय ७४ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याएको छ।

सूचनाका आधारमा अवैध सामान बरामद गर्न बाहिनीमा सिनियर अधिकृतको कमान्डमा स्ट्राइकिङ टिम खटाइनुका साथै सीमाका गणहरूमा समेत सीमा इलाका अनुगमनका लागि डेडिकेटेड अधिकृत खटाई कार्य गरिएको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ सशस्त्र प्रहरी बलले सीमावासीलाई राज्यको उपस्थितिको अनुभूति दिने गरी जनविश्वास बढाउने काममा जोड दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्