नेभिगेशन
सशस्त्र प्रहरी

संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन, राष्ट्रका सिपाही जनताको दुःखका साथी बन्नुपर्छ: आईजीपी पौडेल

काठमाडौं ।  सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई छुट नभएको र राष्ट्रका सिपाही जनताको दुःखका साथी बनेर काम गर्नुपर्ने बताउनुभएको छ। आज कोशी प्रदेशस्थित सीमा इलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्यान्डेटलाई अक्षरशः एवं व्यावसायिक ढङ्गले पूरा गर्न निर्देशन दिनुभएको हो।

सीमा अपराधको जरासम्म पुगेर कारबाही गर्ने र संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नहुने मूल मर्मका साथ नेपाल सरकारको सुशासनको नीतिलाई पूर्ण रूपमा आत्मसात् गर्दै अघि बढ्न कमान्डर तहका अधिकृतहरूलाई निर्देशन दिनुभएको छ। माननीय गृहमन्त्रीको प्रभावकारी कार्यसम्पादन, उपलब्ध स्रोतसाधनको उचित उपयोग र गुनासोरहित नतिजामा आधारित निर्देशनहरूलाई अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ।

कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो आउन नदिने गरी स्रोतसाधनको समुचित परिचालन गर्न र युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी युनिट प्रमुख स्वयंले लिनुपर्ने स्पष्ट पार्नुभएको छ। कमान्डरले उच्च अनुशासन प्रदर्शन गर्दै तल्लो तहका कर्मचारीहरूका लागि प्रेरणादायी रोल मोडलका रूपमा प्रस्तुत हुनुपर्ने धारणा राख्नुभएको छ।

प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उल्लेख गर्दै सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण एवं अवैध चोरी–निकासी र पैठारी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिनुभएको छ।

यो वा त्यो बहानामा गल्ती गर्ने छुट कसैलाई नभएको स्मरण गराउँदै महानिरीक्षक पौडेलले भन्नुभयो, ‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन। हामी सबै राष्ट्रका सिपाही हौँ। पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन भन्ने व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहिताका साथ पूरा गर्नुहोस्।’

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै प्रत्येक कमान्डरको आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम र चुनौतीहरूको तथ्यगत पहिचानसहितको प्रतिकार्य योजना अनिवार्य हुनुपर्ने बताउनुभएको छ। सीमावर्ती क्षेत्रका बासिन्दासँग नियमित अन्तरक्रिया गरी नागरिकको विश्वास र भरोसा जित्न तथा विपद्का बेला अहोरात्र खटिएर राहत र उद्धारमा जुट्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशित गर्नुभएको छ।

कार्यक्रममा नं। १ बराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले दिनुभएको निर्देशनलाई अक्षरशः पालना गर्दै सीमा सुरक्षामा हुने अवैध क्रियाकलाप रोक्न निरन्तर प्रयास भइरहेको धारणा राख्नुभयो।

कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूबाट भएका कामकारबाहीका बारेमा जानकारी गराउँदै मनसुनका समयमा बाढी, पहिरो तथा डुबानमा पर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी सो क्षेत्रमा विपद् उद्धार सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीलाई तयारी हालतमा राखिएको उल्लेख गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्