नेभिगेशन
सशस्त्र प्रहरी

नौबस्तामा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोह सम्पन 

नौवस्ता (बाँके) । सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता, बाँकेमा सञ्चालित सि.सं. २३९ (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका ११६ जना जवान दीक्षित भएका छन् ।

शिक्षालयले सञ्चालन गरेको आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोह बिहीबार सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको थियो ।

समारोहमा डीआईजी अधिकारीले सलामी ग्रहण गर्नुका साथै अन्तिम दीक्षान्त कवाजको निरीक्षण गरेका थिए । उनले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार समेत वितरण गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै डीआईजी अधिकारीले दीक्षित जवानहरूलाई कुशल, सक्षम र जिम्मेवार प्रहरी कर्मचारीका रूपमा अनुशासनपूर्वक राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए । उनले तालिमबाट हासिल गरेको ज्ञान, सीप र क्षमतालाई कार्य क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्दै संगठनको गरिमा उच्च राख्न आग्रह गरे ।

मंसिर १९ गतेदेखि सञ्चालन भएको तालिममा गौरी विष्ट, सपना बोहरा, नवीन कुमाल, आरजु बोहरा र पारस सिंह लगायत प्रशिक्षार्थी विभिन्न विधामा उत्कृष्ट घोषित भएका थिए। गौरी बिष्टले सर्वप्रथम तथा सैद्धान्तिकतर्फ प्रथम स्थान हासिल गरेका थिए । त्यसैगरी, कवाजतर्फ सपना बोहोरा, चाँदमारीतर्फ अर्जुन बोहोरा, इन्डुरेन्स (सहिष्णुता) तर्फ नवीन कुमाल तथा व्यावहारिकतर्फ पारस सिंह उत्कृष्ट घोषित भएको सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ताले जनाएको छ। तालिम अवधिमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।


समारोहमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चित्रांगत दाहालले धन्यवाद ज्ञापन गरेका थिए । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष विक्रम शाहले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक निरकबहादुर शाहीले गरेका थिए ।

शिक्षालयका अनुसार नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट हालसम्म १५ हजार भन्दा बढी दक्ष सशस्त्र प्रहरी कर्मचारी उत्पादन भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्