नेभिगेशन
नेपाल प्रहरी

सुस्तामा २६ लाखभन्दा बढीको अवैध कपडा र मदिरा बरामद

सुस्ता। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भित्र्याइएका २६ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा र मदिरा बरामद गरेको छ।

प्रहरीले सुस्ता गाउँपालिका–२ स्थित एक घरबाट ११ लाख ६८ हजार ७ सय रुपैयाँ बराबरका अवैध कपडा तथा सुस्ता–५ महलबारीबाट १४ लाख ८४ हजार रुपैयाँ मूल्यको मदिरा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार असोज २१ गते सुस्ता–२ स्थित महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम बनाएर राखिएका विभिन्न प्रकारका कपडा फेला परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद कपडामा साडी, कुर्थी–सुरुवाल, लेडिज टी–सर्ट, पुरुषका शेरवानी कुर्ता सेट, सुतीको थान कपडा र लुंगी लगायतका सामान रहेका छन्। बरामद कपडालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी, असोज २९ गते सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ।

भारतबाट भन्सार छली गरी ल्याइएको मदिरा ११ वटा ठूला हरिया झोलामा राखेर ओसारपसार भइरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त टोलीले उक्त मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बरामद मदिरामा ‘OLD Monk’ ब्रान्डको ७ वर्ष पुरानो (७ YEARS OLD BLENDED) लेखिएको ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन्। प्रतिवोतल दुई हजार रुपैयाँका दरले मदिराको मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ।

दुवै घटनामा बरामद सामानको कुल मूल्य २६ लाख ५२ हजार ७ सय रुपैयाँ रहेको छ। अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्