नेभिगेशन
नेपाल प्रहरी

ढुङ्गाले हानेर ६ वर्षीय बालकको हत्या, घटनाका आरोपी पक्राउ

दाङ । रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको हत्या भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–२, स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय रमेश नाथको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार प्रहरी हिरासतमा रहेका नाथको मानसिक अवस्था ठीक नभएको बुझिएको छ।

शुक्रबार बेलुकी करिब साढे ५ बजे घरनजिकैको बाटोमा खेलिरहेका बालक रमेशको टाउकोमा भक्तबहादुरले एक्कासि ढुङ्गा प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा राति करिब १० बजे बालक रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्