नेभिगेशन
सुरक्षा विशेष

आमाको स्मृतिमा सीमावर्ती क्षेत्रमा धारा, सुरक्षाकर्मीसम्मलाई खानेपानी

सुस्ता । स्वर्गीय कलावती देवी जयसवालको स्मृतिमा उनका छोराहरूले पश्चिम नवलपरासीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा सार्वजनिक खानेपानी धारा निर्माण गरेका छन्।

कलावती देवीका छोराहरू ओमप्रकाश जयसवाल, रबिन्द्र जयसवाल र धर्मेन्द्र जयसवालले आमाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी० बलिनगरको चेकपोस्ट नजिकै सीमाक्षेत्रमा धारा निर्माण गरेका हुन्।

वि.सं. २०१३ वैशाख १५ गते जन्मिएकी कलावती देवीको वि.सं. २०८३ साउन २८ गते निधन भएको थियो। आमाको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले छोराहरूले सर्वसाधारणको उपयोग हुने गरी खानेपानी धारा निर्माण गरेका हुन्।

पश्चिम नवलपरासीस्थित उक्त सीमावर्ती नाकाबाट नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारण, सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले समेत धाराको पानी प्रयोग गर्न पाउने भएका छन्।

सुस्ता क्षेत्रमा रहेको प्रसिद्ध झुलुङ्गे पुल अवलोकन गर्न उक्त नाका हुँदै दैनिक सयौँ भारतीय पर्यटक आउने गरेका छन्। पर्यटक तथा यात्रुको बाक्लो आवागमन हुने क्षेत्रमा धारा निर्माण भएपछि उनीहरूलाई समेत पिउने पानीको सुविधा उपलब्ध हुने भएको छ।

सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत उक्त धाराको पानी प्रयोग गरिरहेका छन्। आमाको स्मृतिमा निर्माण गरिएको सार्वजनिक धारा मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको उदाहरण बनेको छ।

कलावती देवीको भौतिक उपस्थिति नरहे पनि उनका छोराहरूले निर्माण गरेको यस धारामार्फत आमाको सम्झना र सेवाभाव सीमावर्ती क्षेत्रमा निरन्तर जीवित रहने विश्वास गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्