नेभिगेशन
सुरक्षा विशेष

नरैनापुरमा सीमा सुरक्षाबारे छलफल, ५०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार अनिवार्य

नरैनापुर(बाँके) । सीमा सुरक्षा मजबुत बनाउनेदेखि सीमावासीका समस्या समाधानमा सहजीकरण गर्ने विषयमा नरैनापुर गाउँपालिका–२ मा सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ।

 सशस्त्र प्रहरी बल नेपाल बीओपी कटकुइँयामा आज बसेको बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा अवस्था, चोरी–तस्करी नियन्त्रण तथा सीमावासीले भोग्दै आएका समस्याका विषयमा छलफल तथा समीक्षा गरिएको थियो।

बैठकले भारतबाट नेपाल भित्र्याइने ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान अनिवार्य रूपमा भन्सार नाका हुँदै भन्सार गरेर मात्र ल्याउने सरकारी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ। उक्त व्यवस्था नागरिकलाई दुःख दिने उद्देश्यले नभई राज्यको राजस्व वृद्धि तथा चोरी–तस्करी नियन्त्रणका लागि ल्याइएको विषय सीमावासीलाई स्पष्ट रूपमा जानकारी गराउने निर्णयसमेत गरिएको छ।

स्थानीय जनप्रतिनिधिमार्फत नागरिकलाई सरकारी नियम तथा सीमा क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउने, सीमा नाकामा कुनै विवाद उत्पन्न भए जनप्रतिनिधिको समन्वयमा समाधान खोज्ने तथा चोरी–तस्करी र अवैध पैठारी नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयबीच आवश्यक समन्वय बढाउने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, सीमा क्षेत्रमा हुने लागुऔषधको ओसारपसार तथा सेवन नियन्त्रणमा सुरक्षाकर्मीलाई सहयोग गर्ने, सीमा क्षेत्रको मर्मत–सम्भार तथा रेखदेखमा सहकार्य गर्ने र कुनैपनि पक्षबाट हुनसक्ने दशगजा अतिक्रमण हटाउन सुरक्षाकर्मिलाई सघाउने निर्णय गरिएको बताइएको छ।

बैठकमा बीओपी नरैनापुर गाउँपालिका-२ का वडाध्यक्ष मसुद अहमद शाह, कट्कुइयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक झक्कु शर्मा, सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य चौधरी तथा प्रहरी चौकी लक्ष्मणपुरका प्रमुख प्रहरी सहायक निरीक्षक छविलाल केसी र  जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्