नेभिगेशन
भ्रष्टाचार

शिक्षक नियुक्ति घोटाला: प्रधानाध्यापक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय, धरहरीमा शिक्षक भर्ना प्रक्रियामा घुस प्रकरणमा प्रधानाध्यापक र बिचौलियाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

आयोगका अनुसार माध्यमिक तहमा रसायन विज्ञान विषयका करार शिक्षक राख्ने क्रममा परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र नियुक्ति सुनिश्चित गरिदिने बहानामा सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ मागी लिइएको थियो।

प्रधानाध्यापक प्रसादले राजदेवी नगरपालिका–७ का साह कानुमार्फत सो रकम लिएर घुस लिन खोजेको सूचना प्राप्त भएपछि अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

छानबिनपछि दुबैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार करिब साढे चार लाख रुपैयाँ बिगो तोकी त्यही बराबरको जरिवाना र कैद सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्