सौरभ गिरी/राप्तीसोनारी (बाँके) । बाढीले उर्लिएको नदीको बीचभाग होस् वा इनारको अँध्यारो गहिराइ, दुर्घटनाले क्षतविक्षत सडक होस् वा आगलागीले आक्रान्त बस्ती—यस्ता हरेक जोखिमपूर्ण क्षणमा सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण शमशेरगञ्ज बाँके मौन तर दृढ रूपमा उभिएको देखिन्छ। अरूले जोखिम देखेर पछि हट्ने बेला यो गण अघि बढ्छ तयार हुन्छ । विपद् आउनुअघि तयारीदेखि विपद्का बेला प्रतिकार्य र त्यसपछिको पुनःस्थापनासम्म यसको भूमिका निरन्तर सक्रिय छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रमोद भारतीको कमाण्डमा राप्तीसोनारी गाउँपालिका–८ मा अवस्थित यस गणले नियमित शान्ति सुरक्षासँगै विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। वि.सं. २०५७ चैत २३ गते बागेश्वरी गणका रूपमा स्थापना भएको यो इकाइले तत्कालीन विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय योगदान दिएको थियो। नेपाल सरकारको निर्णयअनुसार २०७७ असार २९ गतेदेखि रिजर्भ गणका रूपमा रूपान्तरण भएपछि यसको जिम्मेवारी झन् फराकिलो बनेको गणले जनाएको छ।
हाल यस गणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा अत्याधुनिक उद्धार उपकरण र सामग्रीसहितको विशिष्टीकृत विपद् व्यवस्थापन टोली परिचालित छ। २०६९ असार १७ गतेदेखि सक्रिय यस टोलीमा ११ जना दक्ष गोताखोरसहित जलउत्पन्न प्रकोप उद्धार, भिर तथा खोँचमा डोरीद्वारा उद्धार, आगो नियन्त्रण, प्राथमिक उपचार, भत्केका संरचनामा खोज तथा उद्धार, सडक दुर्घटना र शव व्यवस्थापनमा तालिम प्राप्त जनशक्ति रहेको सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणले जानकारी दिएको छ। विपद् व्यवस्थापनका सबै चरणलाई एउटै शृंखलामा जोडेर काम भइरहेको छ।
कालीकोटको कर्णाली नदीमा जेसीबी खस्दा बेपत्ता भएका दुई जनाको शव निकालिएको घटना होस् वा पाल्पाको कालिगण्डकी, बाँके, बर्दिया, रुपन्देही र दाङका नदी, तालतलैया, बाँध तथा इनारमा डुबेर हराएका नागरिकको खोजीमा गणका गोताखोर टोलीले बारम्बार जोखिम मोलेर जिम्मेवारी पूरा गर्दै आएको गणले जनाएको छ। पछिल्लो पटक २०८२ मंसिर २३ गते बर्दियाको मधुवन नगरपालिका–१ पथ्थरबोझीस्थित गेरुवा नदीमा डुबेर बेपत्ता भएका १२ वर्षीय बसन्त रानाभाटको शव निकालेर परिवारलाई बुझाइएको एसपी भारतीले बताए।
गोताखोर बन्ने यात्रा सजिलो छैन। २०६९ साल बैशाखमा सशस्त्र प्रहरीका २५ जनाले पहिलो पटक बंगलादेशमा गोताखोर तालिम लिएपछि नेपालमै दक्ष जनशक्ति उत्पादनको क्रम सुरु भयो। २०७६ सालदेखि सशस्त्र प्रहरी बल नेपालले आफ्नै संरचनामा गोताखोर तालिम सञ्चालन गर्दै आएको छ र सोही तालिम प्राप्त गोताखोरहरू हाल नं. ४२ रिजर्भ गणमा रहेर सबैभन्दा जोखिमपूर्ण उद्धार कार्यमा खटिँदै आएका छन्। त्रिशूली, सप्तकोशी, फेवाताल र कुलेखानीमा गरिएको कठोर अभ्यासले उनीहरूलाई चुनौती सामना गर्न सक्षम बनाएको एसपी भारतीको भनाइ छ।
विपद् उद्धारबारे एसपी भारती भन्छन्,-“उद्धार कार्य जोखिमरहित हुँदैन, तर नागरिकको ज्यान जोगाउनु नै हाम्रो पहिलो दायित्व हो। सशस्त्र प्रहरी बल जनताको पीडाको क्षणमा ढाल बनेर उभिनुपर्छ भन्ने मान्यताका साथ नं. ४२ रिजर्भ गण सधैं तयार अवस्थामा छ।”
तथ्यांकअनुसार हालसम्म यस रिजर्भ गणले ४१ वटा सडक दुर्घटनामा खटिएर ८३ जना घाइतेको उद्धार र १७ वटा शव निकालेको छ। जलउत्पन्न प्रकोपमा १७ जनाको जीवित उद्धार र २३ वटा शव फेला पारिएको छ। आगलागी, बाढी, डुबान, कटान, इनार दुर्घटना, भूकम्प र चट्याङजस्ता विभिन्न विपद्मा खटिँदा कुल ७१ जना घाइतेको उद्धार र ४० वटा शव सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ।
विपद् व्यवस्थापन केवल उद्धारमा सीमित नहुने बुझाइका साथ यस गणले पूर्वतयारीमा विशेष जोड दिएको छ। विपद् सूचना, परिचालन र उद्धारमा समन्वय गर्न जिम्मेवारी क्षेत्रका प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक समूह गठन गरिएको एसपी भारती बताउँछन् । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पाठ्यक्रमअनुसार १८ कार्यदिनका दुई चरणको तालिम सञ्चालन गरी यसै आर्थिक वर्षमा ४९ जना समुदाय विपद् स्वयंसेवक तयार पारिएको गणले जनाएको छ।
विद्यालयदेखि बस्तीस्तरसम्म भूकम्प, सडक दुर्घटना, शीतलहर, आगलागी, बाढी र पहिरोजस्ता सम्भावित विपद्बारे जनचेतनामूलक कक्षा, प्रदर्शन र अभ्यास सञ्चालन भइरहेका छन्। छोटो अवधिका खोँच तथा उद्धार तालिमदेखि लुम्बिनी प्रदेशस्तरीय विपद् प्रतिकार्य कृत्रिम अभ्याससम्म सक्रिय सहभागिता जनाउँदै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण शमशेरगञ्ज बाँके बदलिँदो परिस्थितिअनुसार आफूलाई निरन्तर सुदृढ गर्दै विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य, पुनःस्थापना र पुनर्निर्माणमा अडिग प्रतिबद्धताका साथ उभिएको एसपी भारतीले स्पष्ट पारेका छन् ।
सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गण शमशेरगञ्जले गरेका महत्त्वपूर्ण कार्य अन्तर्गतका तस्बिरहरु-