नेभिगेशन
भ्रष्टाचार

विदेश पठाउने सामानमै घुस असुली: त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत कर्मचारीहरूलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा घुस माग गरेको भन्ने सूचना तथा उजुरीको आधारमा भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागअन्तर्गत गोश्वरा हुलाक कार्यालय पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई डिल्लीबजारस्थित गोश्वरा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस बापत लिइसकेको नगद १० हजार रुपैयाँ, स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र निजको साथबाट फेला परेको स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँसमेत गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस बापत लिइसकेको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँसमेत गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ। अन्य स्रोत नखुलेको रकमसमेत जोड्दा कुल २ लाख ६८ हजार २८८ रुपैयाँ तथा विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको मोबाइल सेट २३ थानसमेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्