नेपालगञ्ज । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा राप्ती नदीस्थित सिधनियाघाटमा बाढी तथा डुबान सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ ।
अभ्यासका क्रममा बाढीका कारण मानिस डुबेको, घाइते भएको तथा आपतकालीन अवस्थामा विभिन्न निकायले कसरी समन्वय गरेर उद्धार तथा उपचार गर्ने भन्ने सम्पूर्ण प्रक्रिया प्रदर्शन गरिएको थियो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट सूचना प्रवाह गरिनुका साथै नेपाली सेना र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारको अभ्यास गरेका थिए । नेपाल प्रहरीले घाइतेको भूमिका निर्वाह गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी र नेपाली सेनाको मेडिकल टिमले प्राथमिक उपचार तथा स्वास्थ्य सेवा प्रदान गरेको थियो।
अभ्यासमा घाइतेलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा ल्याउने, एम्बुलेन्समार्फत अस्पताल पठाउने, टाउकोमा चोटपटक लागेको बिरामीको उपचार, खुट्टाबाट अत्यधिक रक्तश्राव रोक्ने विधि, भाँचिएको अंगमा प्राथमिक उपचार, बेहोस भएका व्यक्तिलाई उद्धार गर्ने प्रक्रिया, मुटु तथा फोक्सो पुनःसञ्चालन प्रक्रिया (सीपीआर), ट्रियाज प्रणालीमार्फत घाइतेको वर्गीकरण तथा पानीमा डुबेका व्यक्तिको पेटमा भरिएको पानी निकाल्ने विधिसमेत प्रदर्शन गरिएको थियो ।
मनसुनको समयमा हुन सक्ने बाढी तथा डुबानका घटनामा प्रभावकारी प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनमा सम्बन्धित निकायबीच समन्वय र तयारीको अवस्था परीक्षण गर्न बिहीबार अभ्यास गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्ल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, डुडुवा गाउँपालिकाका जनप्रतिनिधि, युनिसेफ नेपाल लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।
उक्त अभ्यासमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत एवं प्राथमिक उपचार प्रशिक्षक प्रहलाद विश्वकर्माको नेतृत्वमा परिचालित प्राथमिक उपचार टोलीमा शिवकुमार वर्मा, शुशील चौधरी, मोना रोका, मीरा अधिकारी, रवीन्द्र मिश्र लगायत ११ जना सहभागी रहेका थिए ।