काठमाडौं । लुम्बिनी प्रदेशमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
लुम्बिनीसँगै गण्डकी प्रदेशमा पनि एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कर्णालीका पहाडी भूभाग, मधेसका केही स्थान तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।
राति पनि देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ। बंगालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। उक्त प्रणाली सुरुमा उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली छ। सुदूरपश्चिममा भने आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।