नेभिगेशन
सुरक्षा अपडेट

बिजुलीका सामानको गोदाममा आगलागी हुँदा ५ करोड बढीको क्षतिको अनुमान

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । 

५ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आइतबार बेलुकी करिब ७ बजेको समयमा अमर ओलीले संचालन गर्ने एकै स्थानमा रहेका ती फर्महरुमा विद्युतको तार सर्ट भई आगलागी सुरु भएको बताइएको छ । विजुलीका सामानको गोदाम भएका कारण धेरै क्षति भएको छ ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका ३, कोहलपुर नगरपालिकाको १, नरैनापुर गाउँपालिकाको १ र नेपाल आयल निगम राँझाको १ गरी ६ वटा दमकलद्वारा आगो नियन्त्रणमा लिइएको थियो । 

करिब साढे २ घन्टापछि साढे ९ बजेतिर आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन नेपाली सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका थिए । नजिकै रहेका घरहरुमा आगो सल्किने जोखिमले स्थानीय त्रासमा थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्