नेभिगेशन
सुरक्षा अपडेट

१५० मिटर तल खस्यो जिप: तीन जनाको मृत्यु, सात घाइते

सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा सिद्धकुमाख गाउँपालिका–२ का ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीया साउने रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार घाइतेहरूलाई  शुक्रबार राति सवा ८ बजेपछि जिल्ला अस्पताल खलंगा पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणपछि चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सिद्धकुमाख गाउँपालिका–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १५ वर्षीय कमल बुढाथोकी, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १० वर्षीय युवराज परियार र सिद्धकुमाख गाउँपालिका–३ की ७ वर्षीया बिमला बुढाथोकी घाइते भएका छन् ।

प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार घाइतेमध्ये देवबहादुर विक र सुशीला चलाउनेलाई थप उपचारका लागि दाङ र कमल बुढाथोकी, बिमला बुढाथोकी तथा युवराज परियारलाई नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेको सल्यानमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ६ बजे श्रीनगरबाट सिद्धकुमाख गाउँपालिका–२ को टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप रातामाटे खोलामा खसेको थियो । कच्ची सडकबाट अनियन्त्रित भएको जिप करिब १५० मिटर तल खसेको प्रारम्भिक विवरण छ ।

चालकले वर्षाका कारण उकालो सडकमा जिप चिप्लिएर दुर्घटना भएको बताएका छन् । जिपमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालकको अवस्था सामान्य रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, शुक्रबार राति नै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११ मा पनि अर्को जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्