काठमाडौं । अवैध लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, कैलाली, कञ्चनपुर, सुनसरी, पर्सा र काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० गणेशमान चोकबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २१ वर्षीय पवन गन्धर्बसहित तीन जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–१ राजीपुरबाट ३ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २४ वर्षीय प्रकाश चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, लम्कीचुहा नगरपालिका–४ बाट १ ग्राम ४९० मिलिग्राम खैरो हेरोइनसहित २० वर्षीय पूर्णबहादुर चन्द र २४ वर्षीय शंकर देउवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरीधामबाट १७७ मिलिग्राम ब्राउनसुगरसहित ३२ वर्षीय टनक अवस्थी र ३४ वर्षीय राजु बिष्ट पक्राउ परेका छन् । अवस्थी धनगढी उपमहानगरपालिका–१३ र बिष्ट कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का बासिन्दा हुन् । प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प. ४३१३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट ११७ मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय आशिष भट्ट पक्राउ परेका छन् । त्यस्तै, सोही उपमहानगरपालिकाको कैलालीगाउँबाट १ ग्राम ८२२ मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय आकाश राना पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट १ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनसहित भीमदत्त नगरपालिका–१८ का २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट ९ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ का ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र इनरुवा नगरपालिका–८ का १९ वर्षीय साहदिन हुसेन रहेका छन्।
त्यसैगरी, बराहक्षेत्र नगरपालिका–११ बुधबारे चोकबाट ३०० ट्याब्लेट ट्रामाडोलसहित २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट ४२ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–६ का २४ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका–२ का २९ वर्षीय दीपक परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीबाट १ हजार ३१० ट्याब्लेट ट्रामाडोल र ४२ हजार ५९८ रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ ब्रह्मखेलका ३५ वर्षीय गणेश श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने नुवाकोटका २१ वर्षीय अनिस केसी रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले बा.प्र.०२–०३१ प ३७२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै, चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट १४ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित धादिङको नीलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जोनाम लामा पक्राउ परेका छन। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगासमेतबाट खटिएको प्रहरी टोलीले काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।