नेभिगेशन
सुरक्षा अपडेट

बाँकेको राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीमा शनिबार  दुई कार एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हाल काठमाडौंमा बस्दै आएका शाहीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ९ बजे पूर्व–पश्चिम राजमार्गमा कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा-प्र।)- ०१–०३२ च ३६१८ नम्बरको कार र घोराहीबाट नेपालगञ्जतर्फ गइरहेको बा-प्र- ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा पहिलो कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य अवस्थामा रहेका छन् । सोही कारका चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

दोस्रो कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगी भने सकुशल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्