नेभिगेशन
सुरक्षा अपडेट

दसैँको टीका थाप्न जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

अर्घाखाँची । दसैँको टीका थाप्न आफन्तको घर जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ निवासी ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा ज्यान गएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी दिवस जिसीका अनुसार घरमा दसैँको टीका लगाएपछि मावली तथा ससुरालीतर्फ टीका थाप्न भूमिकास्थान नगरपालिका–२, भूमेकाथान जाँदै गरेका उनीहरू दुर्घटनामा परेका हुन्।

लु ६४ प ७४७१ नम्बरको मोटरसाइकलसहित बाबु–छोरालाई बिहीबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उनीहरू बुधबार दिउँसो ३ बजेपछि दुर्घटनामा परेका थिए।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट करिब ६० मिटर तल भीरमा खसेको अवस्थामा भेटिएको थियो। दुर्घटनास्थल लामो ओरालो भए पनि सडक कालोपत्रे रहेको डीएसपी जिसीले बताए। मोटरसाइकल तीव्र गतिमा रहेको वा ब्रेकमा समस्या आएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा परेका बाबु–छोराको शव मोटरसाइकलबाट करिब चार–पाँच मिटरको दूरीमा फेला परेको थियो। मोटरसाइकल छोरा विवेकले चलाएका थिए। उनी काठमाडौंमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

बुधबार राति अबेरसम्म पनि बाबु–छोरा घर नफर्किएपछि आफन्तहरू चिन्तित भएका थिए। उनीहरू नआएपछि आफन्तले राति करिब ९ बजे प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा बिहीबार बिहान दुवै जना दुर्घटनामा परेको अवस्थामा फेला परेका हुन्।

डीएसपी जिसीका अनुसार विवेक परिवारका एक्ला छोरा थिए। देविरामका तीन छोरी विदेशमा रहेका छन्। दसैँको खुसी साट्न आफन्तको घर जाँदै गरेका बाबु–छोराको दुर्घटनामा मृत्यु भएपछि परिवारमा शोक छाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्