नेभिगेशन
सुरक्षा अपडेट

सुर्खेतमा बुलेट मोटरसाइकलको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र चालक घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती र मोटरसाइकल चालक घाइते भएका छन् ।

शुक्रबार साँझ वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा भएको दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–१० बुलबुले बस्दै आएका ३७ वर्षीय विवेक थापाको मृत्यु भएको हो ।

घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदल हिँडिरहेका थापा दम्पतीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा राति पौने १० बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थापाकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक २२ वर्षीय दिपेश चौधरी पनि घाइते भएका छन् । सुनिताको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चौधरीको अनुहारमा चोट लागेको छ ।

घाइते तीनै जनालाई सुरुमा उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्‍याइएको थियो । त्यहाँबाट राति करिब ९ बजे थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा थापाको बाटोमै मृत्यु भएको हो । उनको शव राति ११ बजेपछि पुनः सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्