नेभिगेशन
सुरक्षा अपडेट

परासीमा ट्रकको ठक्करबाट मोटरसाइकल सवार पत्रकार पोषकान्त पोखरेलको मृत्यु

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो करिब १२ः१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी पोखरेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो । तर, चिकित्सकले १२ः२० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार मृतकको साथमा रहेका कागजातका आधारमा उनको पहिचान खुलेको हो । दुर्घटनामा संलग्न ट्रक, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा राखिएको छ ।

ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको खोजी तथा सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पोखरेल बुटवलबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिक र काठमाडौंमा सञ्चालित आर्थिक कारोबार दैनिकमा कार्यरत पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्