नेभिगेशन
नेपाल प्रहरी

क्रिप्टो कारोबारमा दुई अर्बभन्दा बढीको रकम, सुनिलकुमार यादव पक्राउ

काठमाडौं । अनलाइनमार्फत भएको अर्बौं रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धानका क्रममा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका २८ वर्षीय सुनिलकुमार यादवको बाइनान्स खाताबाट २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ।

धनुषाको सबैला नगरपालिका–१२ निवासी यादवमाथि क्रिप्टोकरेन्सीको कारोबारसँगै अनलाइन सट्टेबाजीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ। उनको गतिविधिबारे सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी तथा प्राविधिक अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा यादवको बाइनान्स आइडीबाट २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको विवरण भेटिएको प्रहरीले जनाएको छ। प्रतिअमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाका दरले गणना गर्दा यो रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन्छ।

प्रहरीले धनुषा प्रहरीको सहयोगमा यादवलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी तथा अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्यादसमेत लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्