नेभिगेशन
नेपाल प्रहरी

खल्तीको कर्मचारी बनेर बैंक खातामा पहुँच पुर्‍याई ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । डिजिटल वालेट खल्तीका कर्मचारी भएको भन्दै ग्राहकलाई झुक्याएर बैंक खातामा अनधिकृत पहुँच बनाई रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूले आफूहरू खल्तीका कर्मचारी भएको परिचय दिँदै सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेका थिए। ग्राहकको केवाईसी विवरण अद्यावधिक गरिदिने, बैंक खाता वालेटमा जोडिदिने, व्यावसायिक खातामा रकम प्राप्त हुँदा जानकारी दिने ई–स्पिकर उपलब्ध गराउने तथा रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइदिने भन्दै उनीहरूले विश्वास जित्ने प्रयास गर्थे।

त्यसपछि फोन तथा ह्वाट्सएपमार्फत अडियो र भिडियो कल गरी सेवाग्राहीलाई स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोडसमेत प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ। यसरी ग्राहकको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर उनीहरूले ठगी गर्ने गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्