नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले असोज महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक कारबाही र जनचेतनामूलक कार्यक्रमलगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी इकाइबाट सम्पादित कार्यहरूको प्रगति विवरणअनुसार असोज महिनामा विभिन्न प्रकृतिका १२७ वटा मुद्दा दर्ता भएका छन् भने चालु मुद्दाका १७९ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये १२ वटा जघन्य, ४६ वटा गम्भीर र ६९ वटा सामान्य प्रकृतिका अपराधसम्बन्धी छन्।
यस अवधिमा सार्वजनिक चासोका २० वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता गरी एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले असोज महिनामा ७० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको हकमा २० वर्ष ६ महिना २१ दिन कैद सजाय तथा ३४ लाख ११ हजार ७५३ रुपैयाँ बिगो वा क्षतिपूर्तिसम्बन्धी रकम रहेको प्रगति विवरणमा उल्लेख छ।
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले असोज महिनामा १९ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरेको छ। प्रहरीले एक किलो १७९ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर, ३२ किलो ५२० ग्राम गाँजा, ४२० क्याप्सुल ट्रामाडोल र २० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरि, अनलाइन जुवा तथा सट्टेबाजीविरुद्ध गरिएको कारबाही असोज महिनाको प्रमुख उपलब्धिमध्ये एक रहेको छ। प्रहरीका अनुसार असोज ६ गते साँझ कोहलपुर नगरपालिका–११ स्थित म्याक्स होटलमा अनलाइनमार्फत जुवा तथा सट्टेबाजी खेलाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
होटलको पाँचौँ तलास्थित कोठामा छापा मार्दा ४६ जना भारतीय र दुई जना नेपाली नागरिक गरी ४८ जना अनलाइन जुवा तथा सट्टेबाजीमा संलग्न रहेको अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलबाट डेल कम्पनीका १२ थान र एचपी कम्पनीका पाँच थान ल्यापटप, कारोबारसम्बन्धी विवरण उल्लेख गरिएका १४ थान कापी, दुई थान डायरी तथा विभिन्न कम्पनीका ७१ थान मोबाइल बरामद गरेको बाँके प्रहरीले जनाएको छ।
अनुसन्धानपछि अदालतमा पेस गरिएका प्रतिवादीहरूलाई असोज २१ गते बाँके जिल्ला अदालतको फैसलाअनुसार जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो। फैसलापछि गणेश बुढाक्षेत्रीसहित ४८ जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध नियन्त्रण र उजुरी फर्छ्योटतर्फ पनि प्रहरीले काम गरेको छ। यस शीर्षकअन्तर्गत १२ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै, १०६ वटा उजुरी प्राप्त भएकामा ९३ वटा फर्छ्योट भएका छन् भने १३ वटा फर्छ्योट हुन बाँकी रहेको विवरणमा उल्लेख छ।
घरेलु हिंसासम्बन्धी ५७ वटा उजुरी प्राप्त भएकोमा ५५ वटा फर्छ्योट गरिएको छ। हराएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषको खोजतलासका क्रममा महिला २१ जना, बालिका १४ जना, बालक ११ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र अन्य पुरुष एक जना गरी जम्मा ४९ जना हराएको विवरण छ। तीमध्ये महिला १६ जना, बालिका १३ जना, बालक छ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र अन्य पुरुष एक जना गरी ३८ जना फेला परेका छन्। बाँकी पाँच जना महिला, एक जना बालिका र पाँच जना बालक फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ असोज महिनामा बाँकेमा १०५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ६ जनाको मृत्यु भएको र गम्भीर घाइते १९ जना तथा सामान्य घाइते १३८ जना गरी जम्मा १९३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीको विवरणअनुसार दुर्घटनाका कारणमा तीव्र गति ९७, मादक पदार्थ सेवन सात, यान्त्रिक कारण एक र अन्य कारण एक उल्लेख गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध प्रहरीले १ हजार ८०४ वटा कारबाही गरी १४ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले असोज महिनामा ९ हजार ९९२ पटक पिकेट, ४ हजार ४१९ पटक ग्रामीण गस्ती , ३३७ पटक चेकिङ तथा छ पटक ग्रामीण गस्ती सञ्चालन गरेको विवरणमा उल्लेख छ। विशेष परिस्थितिमा शान्ति सुरक्षा व्यवस्थापनका लागि तीनवटा कार्यक्रममा १६६ जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो।
अवैध हातहतियार नियन्त्रणतर्फ प्रहरीले एक थान घरेलु एयर पेस्तोल र एक थान भरुवा बन्दुक बरामद गरेको छ। घटनासम्बन्धमा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ। भन्सार छली नियन्त्रणका क्रममा करिब तीन लाख ७० हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा आठ वटा सवारीसाधन नियन्त्रणमा लिइएको र ९० हजार रुपैयाँ जरिवाना गरिएको विवरणमा उल्लेख छ। अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा दुई वटा पशु, मूल्य ९० हजार रुपैयाँ, तथा १५ वटा पन्छी, मूल्य आठ हजार ५० रुपैयाँ, बरामद गरिएको उल्लेख छ।
अवैध वन पैदावार नियन्त्रणतर्फ प्रहरीले ६४.८९ क्युफिट युकलिप्टस जातको काठ नियन्त्रणमा लिएको छ। यस क्रममा दुई जनालाई पक्राउ गर्नुका साथै एक थान ट्र्याक्टर नियन्त्रणमा लिइएको र दुई लाख ५९ हजार ५६० रुपैयाँ राजस्व उल्लेख गरिएको छ।
असोज महिनामा विपद् व्यवस्थापनतर्फ ३० वटा घटनामा प्रहरी परिचालन भएको थियो। उक्त कार्यमा ८४ जना प्रहरी कर्मचारी खटिएका थिए भने तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। विपद्बाट भएको क्षतिको अनुमानित रकम १२ लाख ७८ हजार ९४० रुपैयाँ रहेको छ।
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले विद्यालय तथा समुदायमा १०२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। ती कार्यक्रमबाट दुई हजार दुई जना पुरुष र एक हजार ६०९ जना महिला लाभान्वित भएको विवरणमा उल्लेख छ। समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत १०३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
विद्यालयस्तरीय १६ वटा कार्यक्रममा ८२३ जना बालक र ८१२ जना बालिकाको सहभागिता रहेको थियो। नागरिकसँग प्रत्यक्ष संवाद र गुनासो सुनुवाइका लागि प्रहरीले खजुरा गाउँपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा एक वटा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय, भन्सारसम्बद्ध निकाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको विषय उठाएका थिए।
यसैगरी, असोज महिनामा प्रहरी कार्यालयको हटलाइन तथा अन्य सम्पर्क नम्बरमा एक हजार ८१२ वटा कल प्राप्त भएका थिए भने नागरिक सहायता कक्षमा दुई हजार ७६२ जना सेवाग्राहीको विवरण दर्ता भएको थियो। प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न वरिष्ठ प्रहरी अधिकृतसँग एकदिने कार्यक्रम सञ्चालन गरिएको र ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको विवरणमा उल्लेख छ।
प्रहरीले असोज महिनामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध कारोबार नियन्त्रण तथा नागरिक सेवासम्बन्धी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रगति विवरणमा उल्लेख छ।



