नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार

काठमाडौं। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी पूर्णशान्ति पुरस्कारबाट पुरस्कृत  भएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले जिसीलाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धान कार्यमा देखाएको सक्रियता, जटिल आपराधिक घटनाको सफल अनुसन्धान तथा प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै जिसीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बाँके प्रहरीको नेतृत्व सम्हालेपछि जिसीले विभिन्न गम्भीर आपराधिक घटनाको अनुसन्धानलाई प्राथमिकता दिएका थिए । उनको नेतृत्वमा प्रहरीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर हत्या गरिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

लागुऔषध नियन्त्रण र तस्करीविरुद्धको कारबाहीमा पनि बाँके प्रहरीले उल्लेखनीय काम गरेको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८२-०८३ मा प्रहरीले लागुऔषधसम्बन्धी ३८२ जनाविरुद्ध मुद्दाको अनुसन्धान गरेको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षमा भन्सार छली गरी ल्याइएका करिब ३ करोड ४७ लाख रुपैयाँ बराबरका सामान, ४७ वटा सवारीसाधन तथा तस्करीमा संलग्न ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही अवधिमा जिसी नेतृत्वको टोलीले विभिन्न मुद्दामा फरार रहेका ५७७ जना प्रतिवादीलाई पक्राउ गरेको जनाइएको छ ।

पूर्णशान्ति पुरस्कारसँगै एसपी जिसीले नगद र प्रशंसापत्रसमेत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्