नेभिगेशन
नेपाल प्रहरी

बाँकेको डुडुवाबाट ३२ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

बाँके । बाँकेको डुडुवाबाट प्रहरीले ३२ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–१ पिपरहवा क्षेत्रमा रहेको खडैचा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकको कमान्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको साइकललाई रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार साइकलको पछाडि रहेको स्याउला तथा घाँसको भित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो २२० ग्राम गाँजा बरामद गरिएको थियो। त्यसपछि साइकल चालक ४० वर्षीय रामनरेश कुर्मीको घरको कोठा तथा खेतबारीमा खानतलासी गर्दा थप २२ किलो ३०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले कुर्मीको साथबाट र घर तथा खेतबारीबाट गरी जम्मा ३२ किलो ५२० ग्राम गाँजा बरामद गरेको जनाएको छ। घटनामा प्रयोग गरिएको साइकल र एक थान किप्याड मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ परेका कुर्मीमाथि लागूऔषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्