नेभिगेशन
सशस्त्र प्रहरी

जमुनहामा सुरक्षा निगरानी कडा, अवैध ओसारपसार नियन्त्रणमा गुल्म सक्रिय, चुनौती कायमै

नेपालगन्ज । भारतसँग सीमा जोडिएको बाँकेको जमुनहा नाकासहित आसपासका क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा अपराध न्यूनीकरण तथा लागूऔषधविरुद्धको कारबाहीमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म जमुनहा सक्रिय रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गण बागेश्वरी बाँकेको मातहतमा रहेको सीमा सुरक्षा गुल्म जमुनहाको कमान्ड विगत दुई महिनादेखि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन मल्लले सम्हालिरहेका छन्। करिब १ सय जना जनशक्ति रहेको यस गुल्मले जमुनहा नाकासहित पश्चिममा सैनिक क्षेत्र र पूर्वमा बीओपी कालाबन्जारसम्मको सीमा क्षेत्रमा निगरानी गर्दै आएको छ। उक्त क्षेत्रमा पश्चिममा बिओपी बढैया, साईगाउँ बिओपी र पूर्वमा बिओपी कालाबन्जार रहेका छन् ।

गुल्मको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा हुने अवैध ओसारपसार रोकथाम, सीमा अपराध नियन्त्रण, लागूऔषध कारोबारविरुद्ध कारबाही तथा चोरी पैठारीलगायत अवैध गतिविधि नियन्त्रण गर्नु हो। यसका लागि गुल्मले सीमा क्षेत्रमा रहेका विभिन्न पोस्टमार्फत २४ सै घण्टा निगरानी र गस्ती गर्दै आएको छ।



जमुनहा नाकामा हुने आवागमनलाई व्यवस्थित बनाउँदै शंकास्पद गतिविधि नियन्त्रण गर्न गुल्मले विशेष चेकजाँचलाई प्राथमिकता दिएको छ। सशस्त्र प्रहरीसँगै बीआईटीले पनि नाकामा निगरानी तथा चेकजाँच गर्दै आएको छ। चेकजाँचका क्रममा स्निफर डगको समेत प्रयोग गरी शंकास्पद सामान पहिचान तथा परीक्षण गर्ने गरिएको छ।



भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका सामान बरामद गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी भन्सार दाखिला गराउने र अवैध कारोबार निरुत्साहित गर्ने काममा गुल्म केन्द्रित छ। पछिल्ला महिनाहरूमा गुल्मले लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गर्नुका साथै लागूऔषध नियन्त्रणका लागि पनि कारबाहीलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ

घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने सर्वसाधारणलाई सरकारले तोकेको ५ सय रुपैयाँसम्मको सामान ल्याउन दिने व्यवस्थाअनुसार सहजीकरण गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सीमाभन्दा बढी मूल्यका सामान ल्याउनेलाई भन्सार प्रक्रिया पूरा गर्न अनुरोध गर्ने र त्यसलाई अटेर गरी सामान भित्र्याउन खोजेमा नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ।



त्यस्तै, प्रतिबन्धित तथा निषेधित वस्तुको ओसारपसारमा गुल्मले कडाइ गरेको छ। भारतबाट ल्याइने अण्डा, तेल, केरा, माछा तथा मासुजन्य वस्तु र विस्फोटक पदार्थ नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने गरिएको सशस्त्र प्रहरीले जनाएको छ। दीपावली नजिकिँदै गर्दा विस्फोटकजन्य सामग्री तथा पटका भित्रिन नदिन सीमा क्षेत्रमा थप निगरानी बढाइएको सशस्त्र प्रहरीको भनाइ छ।

खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रणसँगै स्थानीय व्यापारको प्रवर्द्धनलाई पनि प्राथमिकता दिनुपर्ने नेपालगन्जका व्यापारीहरूको भनाइ छ। उनीहरूका अनुसार दैनिक रूपमा सानातिना परिमाणमा भित्रिने सामानले समेत वैध व्यापारमा असर पारिरहेको छ। भन्सार तथा कर तिरेर व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई समान प्रतिस्पर्धाको वातावरण बनाउन ठूला परिमाणका सामानको बरामदसँगै दैनिक रूपमा हुने सानातिना सामानको अवैध ओसारपसारमाथि पनि निगरानी र नियन्त्रण प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ।



सीमा सुरक्षासँगै सर्वसाधारण तथा यात्रुको सहज आवागमनलाई पनि गुल्मले प्राथमिकतामा राख्नुपर्ने स्थानीयको अपेक्षा छ। घरायसी प्रयोजनका सामान ल्याउने यात्रुलाई प्रचलित नियमअनुसार सहजीकरण गर्ने र भन्सार छली तथा अवैध कारोबारमा संलग्न गतिविधिलाई निरुत्साहित गर्ने कामबीच सन्तुलन आवश्यक रहेको उनीहरूको भनाइ छ।

सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता देखिए पनि अवैध ओसारपसार नियन्त्रण, सीमा अपराध नियन्त्रण , स्थानीय व्यापारको प्रवर्द्धन र सर्वसाधारण यात्रुको सहज आवागमन सुनिश्चित गर्नु नै सीमा सुरक्षा गुल्म जमुनहाको केहीहदसम्म चुनौती नै रहेको देखिएको सम्बन्धित सरोकारवालाको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्