नेभिगेशन
नेपाल प्रहरी

साढे २५ हजार नक्कली नोटसहित दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं।  साढे २५ हजार नक्कली नोटसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन् ।

प्रहरीका अनुसार कार्तिक  १३ गते राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा दुई जना व्यक्ति नक्कली नेपाली नोटसहित पैदल हिँडिरहेको विशेष सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनीहरूको साथबाट ५०० रुपैयाँ दरका ३ थान र १ हजार रुपैयाँ दरका २४ थान गरी कुल २७ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । बरामद नोटको कुल रकम २५ हजार ५०० रुपैयाँ रहेको छ ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्