नेभिगेशन
सुरक्षा विशेष

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका ८ कैदीको नाम खुल्यो, यस्तो छ मुद्दाको विवरण

डोल्पा । डोल्पा जिल्ला कारागारको सुरक्षा घेरा तोडेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ। कारागारभित्रै सुरुङ खनेर बाहिरिएका उनीहरू विभिन्न जिल्लाका रहेको खुलेको छ। फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्।

फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी रहेका छन्। दुवै जना चोरी मुद्दामा पुर्पक्षका लागि कारागारमा थुनिएका थिए।

त्यस्तै, आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार पनि फरार भएका छन्।

यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय र वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा पनि फरार हुनेको सूचीमा छन्।

कारागा कार्यालयका अनुसार चोरी मुद्दामा थुनामा रहेका तीन जनामध्ये दुई जनालाई करिब तीन महिनाअघि मात्रै कारागारमा ल्याइएको थियो। उनीहरू पुर्पक्षका लागि थुनामा रहेका थिए।

प्रारम्भिक विवरणअनुसार कैदीबन्दीले कारागारको सुत्ने कोठाबाट सुरुङ खन्न सुरु गरी शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्कने बाटो बनाएका थिए। सुत्ने कोठा कच्ची संरचनाको भएकाले माटो खनेर सुरुङ बनाउन उनीहरूलाई सहज भएको बताइएको छ।

कारागारका अनुसार सुरुङ करिब चार मिटर लामो रहेको अनुमान छ। सुरुङको वास्तविक लम्बाइ र अवस्थाबारे नापजाँच गरी प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शुक्रबार साँझ साढे ५ बजे कैदीबन्दीको नियमित गणना गर्दा सबै जना उपस्थित थिए। तर शनिबार बिहान ६ बजेपछि पुनः गणना गर्ने क्रममा आठ जना कैदीबन्दी नभेटिएपछि उनीहरू फरार भएको पुष्टि भएको थियो।

सुरुङ खन्न सामान्य औजारभन्दा बेल्चा वा फरुवा जस्ता सामग्री प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रजिअ ढकालले बताएकी छन्। घटनास्थलको निरीक्षण गरी सुरुङ र त्यससँग सम्बन्धित प्रमाणको मुचुल्का तयार पार्न प्रहरी टोली परिचालन गरिएको छ।
घटनापछि प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी प्रमुखसहितका सुरक्षा अधिकारी फरार कैदीबन्दीको खोजीमा जुटेका छन्। उनीहरूलाई चाँडै पक्राउ गर्ने विश्वास प्रशासनले व्यक्त गरेको छ।

आठ जना कैदीबन्दी कारागारबाट बाहिरिन सफल भएपछि सुरक्षामा भएको कमजोरीबारे पनि प्रश्न उठेको छ। सुरुङ खन्न प्रयोग गरिएका औजार कहाँबाट ल्याइयो, कैदीबन्दीले लामो समयसम्म सुरुङ खन्दा पनि कारागार प्रशासनले किन थाहा पाएन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्