नेभिगेशन
सशस्त्र प्रहरी

नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र स्मार्ट व्यवस्थापनमा जोड

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौँमा आयोजित नेपाल–भारत १०औँ समन्वय बैठक आज सम्पन्न भएको छ ।

बैठकमा अघिल्लो ९औँ समन्वय बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य तथा शीघ्र सूचना आदानप्रदानमार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सीमापार अपराध नियन्त्रण गर्ने विषयमा दुवै देशका सुरक्षा नेतृत्वबीच साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू, परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौँस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरू सहभागी भएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रमा समग्र सुरक्षा अवस्था शान्तिपूर्ण कायम राख्न सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका इकाइहरूले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको बैठकमा सराहना गरिएको थियो । सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सद्भावमा उत्पन्न गरेको चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ बनाउने सहमति पनि भएको छ ।

दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ । साथै, बाउन्ड्री वर्किङ ग्रुप (BWG) र सर्भे अफिसियल्स कमिटी (SOC) को निर्णयअनुसार सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि फिल्ड तहमा समन्वय बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी, सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट तथा लागुऔषध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन रोक्न समयमै सूचना आदानप्रदान गर्दा प्रभावकारी नतिजा प्राप्त भएको निष्कर्ष निकालिएको छ । यस्ता गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुने अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ । सीमा सुरक्षाका चुनौती सामना गर्न आधुनिक प्रविधि र विशेष तालिमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध थप प्रगाढ बनाउने निर्णय गरिएको छ ।

परम्परागत सुरक्षा प्रणालीबाट आधुनिक तथा प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनतर्फ अघि बढ्ने उद्देश्यले दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकाहरूमा लगेज स्क्यानर र वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने तथा आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा पनि गहन छलफल भएको छ ।

त्यस्तै, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘Joint Swift Water Rescue Exercise’ सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

वैधानिक रूपमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि सीमा नाकाहरूमा सहायता कक्ष (Help Desk) विस्तार गर्ने सहमति पनि भएको छ । त्यसैगरी, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा विभिन्न अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सद्भाव अभिवृद्धि गर्ने निर्णय गरिएको छ ।

उक्त बैठक कात्तिक ११ गतेदेखि सञ्चालन भएको थियो । सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक आगामी वर्ष भारतमा आयोजना गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्