नेभिगेशन
नेपाल प्रहरी

जापान पठाउने भन्दै झण्डै साढे २ करोड रुपैयाँ ठगी गरेको आरोपमा कृष्ण हरि पक्राउ

काठमाडौँ । जापानमा आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर झण्डै साढे २  करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ का ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन्। उनले बेरोजगार युवायुवतीलाई जापान पठाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट करिब २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारेर लामो समयसम्म झुक्याउँदै आएका दाहाल रकम लिएपछि सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा दाहालले पीडितहरूलाई शिरबहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको छ। रकम जम्मा गर्न आनाकानी गर्ने व्यक्तिलाई आफू शिरबहादुर गजुरेल नै भएको भन्दै रकम फिर्ता गर्ने लिखित कागजसमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

हालसम्म यस प्रकरणमा १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। प्रहरीले दाहाल र शिरबहादुर गजुरेलबाट ठगीमा परेका अन्य व्यक्तिलाई समेत सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्