नेभिगेशन
विपद्

बाढीले सुस्ता बस्ती डुबानमा: २९ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

सुस्ता । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता गाउँको थारुटोलामा बाढीको पानी पसेको छ।

शनिबार बिहान सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा २१ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो।

टोलीले डुबानमा परेका २९ जना स्थानीयवासी, १ गाई र १३ वटा बाख्रालाई सकुशल उद्धार गरी सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा सुरक्षित स्थानान्तरण गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गणका गणपति गोविन्दबहादुर खातीले जानकारी दिए।

खातीका अनुसार नारायणी नदीको बहाव बढिरहेका कारण सुस्तामा थप जोखिम कायमै छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि नै सशस्त्र प्रहरीले स्थानीयलाई सचेत गराउँदै माइकिङसमेत गर्दै आएको थियो।

बाढीको अवस्था र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको टोलीले थप उद्धार तथा सुरक्षा कार्यलाई निरन्तरता दिइरहेको गणपति खातीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्