नेभिगेशन
विपद्

मृत्यु हुनेको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ। नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित तथा तटीय क्षेत्रबाट एक हजार ४५२ शव फेला परेको र उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६९ जना छन्। रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०४, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलन तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको छ। हालसम्म एक हजार ३३४ शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका क्रममा मृतकका एक हजार ३३० र आफन्तका दुई हजार ६६ गरी कुल तीन हजार ३९६ वटा डिएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका एक हजार ४२१ शवको विवरणसमेत प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

बाढीपछि उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि विभिन्न प्रभावित क्षेत्रमा ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। बाढीमा बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

यस्तै, बाढीका कारण विस्थापित भएका एक हजार २३४ जनालाई सम्बन्धित जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ। उद्धार तथा खोजी कार्यसँगै विस्थापितको व्यवस्थापन र राहत वितरणलाई पनि निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्