नेभिगेशन
नेपाल प्रहरी

बालिकालाई मोटरसाइकलले ठक्कर दिएपछि दुई पक्षबीच झडप, चक्कु प्रहारबाट १९ वर्षीय युवक गम्भीर घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिँदा एक युवक गम्भीर घाइते भएका छन्।

स्थानीय २ वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विषयमा दुई पक्षबीच विवाद बढ्दै जाँदा १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार भएको हो। उनको अवस्था गम्भीर रहेको र प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले सडकमा रहेकी बालिकालाई ठक्कर दिएको थियो। बालिका घाइते भएपछि सुरु भएको विवादले उग्र रूप लिएको थियो।

विवादकै क्रममा स्थानीय ३७ वर्षीय भिम साह लहेरा र मोटरसाइकल चालक बालकले मिलेर सुरजमाथि चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ। चक्कु प्रहारबाट सुरजको शरीरको पछिल्लो भागमा गम्भीर चोट लागेको छ।

घटनाको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले आक्रमणमा संलग्न भिम साह लहेरा र १५ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्