काठमाडौं । देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १०० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ११ लाख ९२ हजार ९४१ रुपैयाँ नगद, तासका बुक तथा कौडा बरामद गरेको छ।
प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको छ।
चितवनमा तीन छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ परेका छन्। रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट कौडा खेलिरहेको अवस्थामा ६ जना पक्राउ पर्दा ५२ हजार ६१५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ। त्यस्तै, भरतपुर महानगरपालिका–७ बाट तास खेलिरहेका ७ जनाको साथबाट ३ लाख ३७ हजार ४८० रुपैयाँ र एक बुक तास तथा भरतपुर–१२ सहयोगी टोलबाट कौडा खेलिरहेका दुई जनाको साथबाट ३६ हजार ११० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।
धनकुटाको पाख्रीबास नगरपालिका–९ स्थित एक घरबाट कौडा खेलिरहेका ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ र ३० थान कौडा बरामद भएको प्रहरीले जनाएको छ।
भक्तपुरमा पनि दुई स्थानबाट २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका–३ एसएस चोकबाट तास खेलिरहेका ९ जनाको साथबाट ९९ हजार १५० रुपैयाँ र एक बुक तास बरामद भएको छ। त्यस्तै, चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट पक्राउ परेका १५ जनाको साथबाट ९७ हजार रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ।
झापाको कमल गाउँपालिका–५ स्थित एक घरबाट तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख १८ हजार २०० रुपैयाँ र ५ बुक तास बरामद भएको छ। दमक नगरपालिका–१० बाट कौडा खेलिरहेका १० जना पक्राउ पर्दा ८९ हजार ७१० रुपैयाँ र १५ थान कौडा बरामद भएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोकबाट तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ र एक बुक तास बरामद भएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–७ चौरीगाउँस्थित एक घरबाट तास खेलिरहेका ४ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ७८ हजार ४८५ रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।
सर्लाहीमा दुई स्थानबाट ११ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–९ मुर्तियाबाट कौडा खेलिरहेका दुई जनाको साथबाट ३६ हजार ५५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ। त्यस्तै, लालबन्दी नगरपालिका–४ हरिभवन टोलस्थित एक घरबाट पक्राउ परेका ९ जनाको साथबाट ६२ हजार रुपैयाँ, ६ बुक तास र १६ थान कौडा बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकस्थित एक घरबाट कौडा खेलिरहेका ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ४७ हजार २५६ रुपैयाँ र ३ थान कौडा बरामद भएको छ।
त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनास्थित एक कोठाबाट तास खेलिरहेका ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६३ हजार ५२५ रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।