काठमाडौं । नेपालीहरूको प्रमुख चाड तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्नुका साथै चोरी, लुटपाट, जुवातास, ठगी, कालोबजारी तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।
नेपाल प्रहरीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन, निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात, मुख्य बजार तथा भीडभाड हुने स्थानमा विशेष टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार तिहारमा पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी गरिरहेको छ। जुवातास, सट्टेबाजी तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । यस्तै, दियो, बत्ती तथा पटका प्रयोगबाट हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकल र विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ।
तिहारमा पटका तथा आतिशबाजीको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुन सक्ने भन्दै प्रहरीले नागरिकलाई त्यस्ता गतिविधि नगर्न विशेष अनुरोध गरेको छ । बालबालिकालाई पटका तथा प्रज्वलनशील पदार्थबाट टाढा राख्न, घर तथा पसलमा विद्युत् सर्ट हुन सक्ने जोखिम न्यूनीकरण गर्न र सार्वजनिक स्थानमा पटका नपड्काउन पनि आग्रह गरिएको छ।
त्यसैगरी, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ध्वनि प्रदूषण हुने गरी डिजे तथा साउण्ड सिस्टम नबजाउन र चाडपर्वलाई शान्तिपूर्ण रूपमा मनाउन प्रहरीले आग्रह गरेको छ । आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा अवैध पटका कारोबारबारे प्रहरीको हटलाइन १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।
चाडपर्वका बेला निकालिने र्याली, जुलुस तथा शोभायात्राका कारण विभिन्न समुदायबीच विवाद वा झडप हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर सुरक्षा व्यवस्थापन मजबुत बनाइएको प्रहरीले जनाएको छ । घरेलु हिंसा, कुटपिट तथा व्यक्तिगत झगडाका घटना न्यूनीकरण गर्न पनि प्रहरी सक्रिय रहनेछ ।
यसैगरी, चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमनमा सहकार्य गरिरहेको छ । खाद्यान्न, लत्ताकपडा, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बजार अनुगमन तथा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । फूलमाला तथा पूजासामग्रीको बिक्रीमा समेत कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि हुन नदिन निगरानी गरिनेछ ।
चाडपर्वका समयमा चोरी, डकैती, लुटपाट, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबारजस्ता गतिविधि नियन्त्रण गर्न पनि विशेष निगरानी राखिनेछ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनको समेत कडाइका साथ जाँच गरिने प्रहरीले जनाएको छ । यात्रु लिएर गन्तव्यतर्फ प्रस्थान गर्नुअघि चालकको सवारी चालक अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन गरे नगरेको अवस्था, सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिनेछ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए नभएको विषयमा टीसीए (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) मार्फत समेत निगरानी गरिनेछ ।
नेपाल प्रहरीले तिहारलगायतका चाडपर्वलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन नागरिक, अभिभावक, व्यवसायी, स्थानीय तह तथा सरोकारवाला सबैसँग सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।
‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ,’ प्रहरीले भनेको छ ।