नेभिगेशन
नेपाल प्रहरी

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जना अझै फरार

डोल्पा । जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन् । उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

कात्तिक १४ गते बिहान कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा बुधबार कमला बुढाको घरमा लुकेर बसेका दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् । रोकाय जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय पाएका कैदी हुन् भने परियार नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।

यसअघि मंगलबार पनि फरार कैदीमध्ये दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

कारागारबाट फरार भएका आठ जनामध्ये हालसम्म चार जना पक्राउ परिसकेका छन् भने बाँकी चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्