नेभिगेशन
नेपाल प्रहरी

प्रहरी महानिरीक्षक कार्की जिम्मेवारीमुक्त, एआईजी मनोज केसी नयाँ आईजीपी

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारको भूमिकामा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई प्रहरी संगठनको नेतृत्वबाट अलग गरिएको हो । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

पछिल्लो समय विभिन्न विवादास्पद घटनामा कार्कीको भूमिकामाथि प्रश्न उठेपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ । उनलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने भएकाले प्रधानमन्त्री कार्यालय मातहत सरुवा गर्ने विकल्प अपनाइएको हो ।

कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए ।

करिब एक वर्षको कार्यकालमा उनी पटक–पटक विवादमा तानिए । विशेषगरी निर्वाचन प्रहरीका लागि पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप उनीमाथि लागेको थियो । प्रहरीको कमाण्ड नियन्त्रण र कार्यसम्पादनलाई लिएर पनि सरकार असन्तुष्ट रहेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका व्यक्तिहरूको निर्देशनमा प्रहरी परिचालन तथा कमाण्ड सञ्चालन गरेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।

गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयहरूमा प्रहरी परिचालन गरी धरपकड गरिएको घटनाले पनि विवाद थप चर्काएको थियो । उक्त घटनामा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनअनुसार कार्कीले प्रहरी परिचालन गरेको आरोप लागेको थियो ।

गैरकानुनी गिरफ्तारीसम्बन्धी निर्देशनसमेत कार्यान्वयन गरेको भन्दै उनीमाथि आलोचना भएको थियो । यस्ता गिरफ्तारीलाई अदालतले गैरकानुनी ठहर गरेपछि प्रहरी नेतृत्वको कार्यशैलीमाथि थप प्रश्न उठेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्