नेभिगेशन
विपद्

नरैनापुर गाउँपालिकाद्वारा इप्रका भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

बाँके। विपद्को समयमा उद्धार तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बाँकेको नरैनापुर गाउँपालिकाले इलाका प्रहरी कार्यालय भगवानपुरलाई अत्यावश्यक विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।

“सँगै पूर्वतयारी, सँगै उद्धार, सँगै सुरक्षा” भन्ने भावसहित आज गाउँपालिकाले इलाका प्रहरी कार्यालय भगवानपुर तथा मातहतका प्रहरी युनिटहरूलाई आवश्यक उद्धार सामग्री प्रदान गरेको हो।

गाउँपालिकाका अनुसार हस्तान्तरित सामग्रीले बाढी, डुबान, आगलागी तथा अन्य सम्भावित विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। साथै, विपद् पूर्वतयारीलाई सुदृढ बनाउनुका साथै आपतकालीन प्रतिक्रिया क्षमतामा समेत उल्लेखनीय वृद्धि हुने विश्वास गाउँपालिकाले लिएको छ।

प्रहरीले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य समुदायको सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोग साझा जिम्मेवारी र समन्वयको उत्कृष्ट उदाहरण भएको जनाएको छ। आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षाका क्षेत्रमा स्थानीय तहसँग सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत कार्यालयले व्यक्त गरेको छ।

विपद् उद्धार सामग्री हस्तान्तरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन शाखाका कर्मचारी , इप्रका भगवानपुरका इन्चार्ज लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्