नेभिगेशन
विपद्

पहिरोको चपेटामा सशस्त्र प्रहरीको बीओपी

काठमाडौं  । तातोपानी नाकास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) सुख्खा पहिरोको चपेटामा परेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ मा रहेको बीओपी परिसरमा गएराति पहिरोसँगै खसेका ढुंगाले विभिन्न संरचनामा क्षति पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीकाअनुसार राति करिब १:१५ बजे बीओपीमाथिको डाँडाबाट ढुंगासहितको सुख्खा पहिरो खसेको थियो। करिब २०० देखि ३०० मिटर माथिबाट झरेका ढुंगाले ब्यारेक, ड्युटी पोस्ट तथा अन्य भौतिक संरचनामा असर पुगेको हो।

पहिरोका कारण पहिलो लाइनको ब्यारेकको एउटा झ्यालको सिसा चकनाचुर भएको छ। दोस्रो लाइनको ब्यारेकको भित्ता र टिनको छानामा समेत क्षति पुगेको छ। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेको छ भने अर्को पोस्ट आंशिक रूपमा क्षतिग्रस्त भएको सशस्त्र प्रहरीले जनाएको छ।

राष्ट्रिय झण्डा राखिएको पोल ढलेर पूर्ण रूपमा बिग्रिएको छ। साथै बाथरुम, जिन्सी स्टोर भवन र मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा पनि पहिरोले क्षति पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनामा कुनै सुरक्षाकर्मी घाइते नभएको र मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरीको भनाइ छ। क्षतिग्रस्त संरचनाको विवरण संकलन तथा थप व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्