नेभिगेशन
विपद्

त्रिशूली बाढीमा १६ जनाको मृत्यु, कयौं सम्पर्कविहीन

काठमाडौँ । तिब्बततर्फबाट त्रिशुलीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसोसम्म बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

प्रदेश प्रहरीका अनुसार रसुवामा एक, नुवाकोटमा नौ र धादिङमा छ जनाको मृत्यु भएको हो। मृतकमध्ये सात महिला र आठ पुरुष रहेको तथा एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढीमा परेका घाइतेमध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना गरी ३५ जनाको उद्धार गरिएको विवरण प्रहरीले दिएको छ। उद्धार तथा खोजी कार्य भने अझै जारी छ।

यसैबीच, त्रिशुली बाढीबाट सुरक्षाकर्मीसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। पछिल्लो प्रहरी विवरणअनुसार नेपाल प्रहरीका कैयौ कर्मचारी सम्पर्कविहीन छन्। टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मैलुङ क्षेत्रमा रहेका प्रहरी युनिटमा बाढीले क्षति पुर्‍याएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्