नेभिगेशन
अपराध

शिक्षकको गोली हानी हत्या, घटनास्थल पुगेर प्रहरीले थाल्यो अनुसन्धान

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ।

कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए।

बिहीबार साँझ घटना भएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ। विद्यालय परिसरमा राईको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भरुवा बन्दुकबाट गोली प्रहार गरी गरिएको देखिएको प्रहरीले जनाएको छ।

सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ। डीएसपी मैनाली पनि घटनास्थल पुगेर थप अनुसन्धानमा खटिने जनाइएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। हत्यामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्