काठमाडौं । काठमाडौंको दरबारमार्गको लिक्विड लन्च बारमा युवकमाथि भएको आक्रमणमा संलग्न भएका ८ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा कानुनी प्रक्रिया अगाडि बढाएको छ।
काठमाडौं-१ दरबारमार्गको उक्त बारमा पुस ६ गते बैतडीका ३६ वर्षीय रमेश भट्टमाथि तरुण दलकाका केन्द्रिय सदस्य कुलध्वज तामाङ नेतृत्वको टोलए कुटपिट गरेको थियो। केन्द्रीय सदस्य कुलध्वज र तरुण दल काभ्रे अध्यक्ष सुजन तामाङको ८ जनाको समूहले गृहमन्त्री रमेश लेखकका नातेदार रमेशमाथि निर्घात कुटपिट गरेको थियो। उक्त कुटपिटबाट रमेश गम्भीर घाइते भएका थिए।
कुटपिटबाट रमेश घाइते भएको कुरा बाहिर आएपछि प्रहरीले केन्द्रीय सदस्य कुलध्वजसहित ८ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले कुलध्वज, सुजनसहित सबैलाई ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ। पक्राउ परेका धेरै जसो पटकपटक अपराध गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य कुलध्वज, काभ्रे अध्यक्ष सुजन, पब्लिक युथ क्याम्पस धोबीचौरका स्वबियु उपसभापति मिलन लामा भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहारी, काभ्रे तरुण दल जिल्ला सदस्य युवराज लामा, सिन्धुपाल्चो जुगल गाउँपालिका तरुण दल अध्यक्ष दावा तामाङ, काभ्रे तेमाल गाउँपालिका-५ का शक्ति लामा र मोरङ उर्लावारि-७ का डम्बरबहादुर कार्की रहेका छन् ।
प्रहरीका अनुसार केन्द्रीय सदस्य कुलध्वजविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा २०६९ मा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने चोरी मुद्दा मा २०७२ मा कुलध्वज जिल्ला कारागार काभ्रेमा बसेका थिए। अर्का काभ्रे तरुण अध्यक्षविरुद्ध पनि जिल्ला प्रहरी परिसले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको छ।