नेभिगेशन
नेपाल प्रहरी

महिलालाई गोली हानेर भागेका भारतीय नागरिक झण्डै डेढ वर्षपछि पक्राउ

बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार गरी फरार भएका भारतीय नागरिकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। उनलाई करिब डेढ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार अन्सारीले २०८२ वैशाख ६ गते बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी टिका बिष्ट क्षेत्रीमाथि गोली चलाएका थिए। विपना नामले चिनिने २९ वर्षीया बिष्ट पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घाकी स्थानीय हुन्।

घटनालगत्तै भारत भागेका अन्सारी नेपाल फर्किएको सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले उनलाई २०८३ कात्तिक १ गते पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट पक्राउ गरेको हो।

प्रहरीले अन्सारीसँगै भारतीय नम्बर प्लेट यूपी ५६ एएच ०५१६ को मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। उनीमाथि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्