नेभिगेशन
नेपाल प्रहरी

यात्रुलाई दुःख दिने २३ जना पक्राउ, दुई जना चोरीको स्कुटरसहित समातिए

काठमाडौँ । राजधानीका विभिन्न क्षेत्रमा पैदल यात्रु तथा सर्वसाधारणलाई दुःख हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते कलङ्की, बल्खु र नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती क्षेत्रमा हिँडिरहेका यात्रुलाई जबरजस्ती सवारीसाधनमा चढाउने, उनीहरूका सामान तथा झोला तान्ने र अनावश्यक दुःख दिने गरेको भन्दै विभिन्न माध्यमबाट गुनासो आएको थियो।

प्राप्त उजुरी तथा गुनासोका आधारमा चाडपर्व सुरक्षा योजनाअन्तर्गत परिचालन गरिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये दुई जनालाई चोरीको स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्