काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी रहेका छन् ।
रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।