काठमाडौ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले बढुवा भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरको) २०८१ माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसली) बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) मा २ जना र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ४ जना गरी ६ जना प्राविधिक प्रहरी अधिकृतहरू बढुवा भएका थिए।
दर्ज्यानी चिन्ह पाउने हुनेहरूमा एसपी प्रभा पौडेल र भुलाराज खनाल तथा डीएसपी डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा.अनुज श्रेष्ठ रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।साथै बढुवा प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनको महत्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा बढुवा भएका प्रहरी अधिकृतहरूबाट सम्पादन हुने कार्यको गुणस्तरमा समेत बढोत्तरी हुने अपेक्षा लिएको उनले बताएका थिए।
यसैगरी सँगसँगै वृद्धि भएका जिम्मेवारीमा संगठनको लक्ष्य र उद्देश्य प्राप्तिको लागि उच्च स्तरको कार्यसम्पादन हुने विश्वास व्यक्त गरेको आईजीपी कुँवरले बताए।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू, प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।