नेभिगेशन
नेपाल प्रहरी

समाजमा शान्ति सुरक्षा मजबुत पार्न प्रहरी र नागरिकबीच सहयोग र समन्वय हुन जरुरी छ: एआईजी तामाङ

काठमाडौं। समाजमा शान्ति सुरक्षा थप मजबुत पार्न प्रहरी र नागरिकबीच एक आपसमा सहयोग, सहकार्य र  समन्वय आवश्यक रहेको  प्रहरी अतिरिक्त महानिरीक्षक( एआईजी) टेकबहादुर तामाङले बताएका छन् ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत काठमाडौंस्थित प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगन्ज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको संयुक्त आयोजनामा भएको शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा एआईजी तामाङले सो कुरा बताएका हुन् ।

काठमाडौं महानगरपालिका-४ टुँडालदेवी मन्दिर परिसरमा   आज आयोजित उक्त अन्तरक्रियामा एआईजी तामाङले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रम संचालन गर्नु पर्नेमा विशेष जोड दिएका थिए।

त्यस्तै पूर्व सचिव श्याम प्रसाद मैनालीले पनि प्रहरी र नागरिकबीच सहयोग र समन्वयको अति जरुरी रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  बसन्त रजौरेले अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गरेका थिए भने काठमाडौं महानगरपालिका-४ का वडाध्यक्ष दिनेश महर्जनले स्थानीय तहको कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको जानकारी दिएका थिए। 

प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले शान्ति सुरक्षाको वर्तमान अवस्था, प्रहरी कार्यमा सुधारका क्षेत्रहरू र सुझाव लगायतका विषयमा धारणा राखेका थिए।

शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा पूर्व संविधान सभा सदस्य रमा गुरागाई, पूर्व सचिव मधु सुदन ढकाल, पूर्व एआईजीहरु तथा डीआईजीहरु, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्