नेभिगेशन
नेपाल प्रहरी

अमेरिका र रोमानिया पठाउने नाममा लाखौं ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर  अमेरिका पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गर्ने सुनसरीको धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राईलाई बौद्धबाट पक्राउ गरेको हो।

त्यस्तै युरोपको रोमानिया पठाउने भन्दै ठगी गर्ने महोत्तरीको सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादवलाई इमाडोलबाट पक्राउ गरेको अपराध अनुसन्धानका एसपी काजीकुमार आचार्यले बताए। चन्द्रकलालाई बिहीबार र यादवलाई शुकवार पक्राउ गरेको एसपी जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार चन्द्रकलाले ७ जनाबाट ४२ लाख रूपैयाँ र सरिताले १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

पक्राउ परेका चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको एसपी आचार्यले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्