काठमाडौं। नेपाल प्रहरीमा २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुव भएको एक साता बितिसक्दा पनि अझै नायब उपरीक्षक (डीएसपी) बाट एसपी बढुवा हुन सकेको छैन ।
२५ जना एसपी एसएसपीमा बढुवा हुँदा त्यतिबेला रिक्त रहेको १० एसपी दरबन्दी थप हुँदा अहिले ३७ एसपी पद रिक्त रहेको छ। प्रहरी प्रधान कार्यालयले अब एसपीमा बढुवाका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ।
अब हुने एसपी बढुवाका लागि बढुवाका लागि वि.सं. २०७२ चैत १६ मा डीएसपीमा बढुवाहरु र २०७३ साउनमा डीएसपी भएका जम्मा ६९ जना डीएसपीहरु अहिले एसपी बढुवाका लागि मुख्य प्रतिस्पर्धामा छन् ।
अहिले एसपीमा बढुवा हुने सिनियर डीएसपीहरु पनि अघिल्लो पटक बढुवा हुँदा छुटेका छन् । प्रहरी प्रधान कार्यालय निकट श्रोतका अनुसार सबैभन्दा पहिला सिनियरलाई प्राथमिकतामा राखिने बताइएको छ।
तर, यसअघि एसपीबाट एसएसपीमा बढुवा हुँदा सिनियरलाई पाखा लगाइएको घटना सम्झदै केही डीएसपीहरु भन्छन्-" माथिल्लो शक्तिकेन्द्रको आशिर्वाद भए सिनियर फेरि पाखा लाग्ने त होलान् ।"
प्रहरी प्रधान कार्यालयले बढुवा छिट्टै हुने बताएको छ। बढुवासिफारिस समितिमा प्रहरी प्रमुख (आईजीपी) अध्यक्ष , गृह मन्त्रालय एक जना सहसचिव सदस्य र एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिव रहने व्यवस्था रहेको छ। बढुवा सिफारिस समितिले बढुवा सिफारिस गर्ने अन्तिम तयारीमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।