नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको गेटमा आएर 'म अपराधी हो,मलाई सजाय होस' भन्दा प्रहरी नै 'अकमक्क'

काठमाडौं हाम्रो समाजमा कानुन उल्लंघन गर्ने र गलत कार्य गर्नेहरु पक्राउ पर्ने डरले प्रहरीबाट कतै पर भागेको देखिदै आएको छ। 

तर, एउटा घटनाले प्रहरी नै अचम्मित भएको छ। २०८१ बैशाख ११ गते राति अन्दाजी १० बजेको काठमाडौंस्थित  प्रहरी वृत्त बौद्धको एउटा घटनाले प्रहरी नै अन्योल र अचम्ममा परेको थियो।

बैशाख ११ गते राति एक जना पुरुष प्रहरी वृत्त बौद्धको गेटमा आएर प्रहरी गार्डलाई आफू अपराधी भएको भन्दै सजायका लागि माग गरेका थिए। मलाई कारबाही गर्नुहोस् भन्दै गेटमा आएर प्रहरीलाई निवेदन गर्दा प्रहरी नै अचम्मित र अकमक्क भएका थिए।

प्रायजसो सानो भन्दा सानो कुरा चोरी वा सानो अपराध गरेकाहरु प्रहरीले पक्राउ गर्न धेरै दुख गर्नु परेको अवस्थामा 'म अपराधी हुँ, मलाई कारबाही गर्नुहोस् ' भन्दा प्रहरीले नै उनको कुरालाई पत्याउन निकै गाह्रो हुँदै ती प्रहरी गार्डले उनको कुरा नै विश्वास गरेनन् ।

बारम्बार आफूले अपराध गरेको र म सजायको लागि आएको भनेपछि ती प्रहरी माथिल्लो दर्जाका अधिकृतहरुलाई बोलाएर सोधपुछ गर्दा ती पुरुषले १० वर्ष अगाडि गरेको अपराधको कुरा सुन्दा प्रहरीहरुनै अचम्ममा परेर चकित खाएका थिए।

ती पुरुष हुन् हाल गोकर्णेश्वर नगरपालिका-९ बस्दै आएका  ओखलढुंगास्थित सुनकोशी गाउँपालिका-५ स्थायी घर भएका ४५ वर्षीय काले तामाङ ।

प्रहरीसँग उनले आफूले १० वर्षअघि गरेको अपराधले राम्रोसँग सुत्न समेत नसकेको हुँदा उक्त घटनाका कारण आत्मगलानी भइरहेको बताउँदै आफू सजाय भोग्न आएको बताएका थिए ।

प्रहरीले काले तामाङको सबै कुरा सुनेर नियन्त्रणमा लिदै १० वर्ष अगाडि ओखलढुंगामा भने अनुसारको घटनाको बारेमा सोधखोज गर्दा उनले भने अनुसारकै घटना भएको भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार काले तामाङ १० वर्ष अगाडिको बलात्कार मुद्दामा फरार रहेको पाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार २०७२ साल फागुन ४ गते (१० वर्ष अगाडि) हालको गोकर्णेश्वर नगरपालिका-९ (साविक १६ नम्बर वडा) बस्ने क्रममा काले तामाङले आरुबारीकी ९ वर्षीया बालिकाल्माथि बलात्कार प्रयास गरेका थिए।

प्रहरीसँगको बयानका क्रममा काले तामाङले भनेका थिए-"ती बालिकालाई उनको घरमा कोही नभएको चाल पाएर घरभित्र छिरेर बलात्कारको प्रयास गरे। तर ती बालिका कराएपछि त्यहाँबाट भागे। प्रहरीले समात्ला भनेर देश छोडेर भारतको असाम गएर बसे।"

प्रहरी भन्छ-' काले तामाङ बलात्कार प्रयास गरेर प्रहरीले नियन्त्रणमा लिन्छ भन्ने डरले सुरुमा भारत गएर ७ वर्षपछि पुनः नेपाल फर्केर उदयपुर र सुनसरीमा रहेका आफन्ती र साथीहरुको घरमा बसेका हुन् ।' कालेलाई उक्त घटनाले अत्यन्तै पश्चाताप र बेचैन बनाएपछि सजाय भोग्न तयार रहेको बताएको प्रहरीले जनाएको छ।

१० वर्षअघि गलत गरेर फरार भएको मान्छे किन यतिका वर्षपछि प्रहरीका आउन मन लागेको भन्ने प्रहरीको प्रश्नमा उनले भने-" सानो होस् वा ठुलो अपराध, अपराध-अपराध नै हुन्छ। सुरुमा गल्ती लुकाउन १० वर्ष परिवारसँग टाढा भएर बसे। बास्तबमामा एउटा गल्तीले मलाई बाँच्न गाह्रो बनायो। हरेक रात छटपटी हुँदै निद्रा सम्म लाग्न सकेन, आत्मगलानी र पश्चाताप भइरह्यो । मैले गल्ती गरेकै हो, अब गल्तीलाई लुकाउन हुँदैन भन्ने लाग्यो र सजाय भोगेर गल्ती गरेको पीर हटाउन कानुनले दिएको सजाय भोग्न प्रहरी समक्ष आत्मसमर्पण गरेको हु।" 

काले तामाङ काठमाडौं फर्किएपछि उनको छटपटीले कुनै कुराको पश्चाताप भएको होला कि भनेर परिवारले उनीसँग के भयो भनेर बारम्बार सोधपुछ गरेको प्रहरीले जानकारी दिएको छ। परिवारको पटकपटकको सोधपुछपछि काले तामाङले आफ्नो अपराधका बारेमा सुनाएपछि परिवारको पनि सल्लाहमा सजाय भोग्नका लागि सल्लाह दिएपछि काले तामाङ बौद्ध प्रहरीको गेटमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

आफ्नो १०-१२ वर्षको छोरालाई लिएर आएका काले तमाङलाई नियन्त्रणमा लिएपछि ती छोरालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

काले तामाङले भने अनुसारको घटना दर्ताको बारेमा बुझ्ने क्रममा २०७२ फागुन ५ गते मुद्दा दर्ता भएको पाइएको प्रहरीले जानकारी दिएको छ। काले तामाङले भने अनुसारकै घटनाको बारेमा मुद्दा दर्ता भएको र उनी फरार हुँदा जिल्ला सरकारी वकिल कार्यालयलाई काठमाडौं प्रहरीले जबरजस्ती करणी अन्तर्गत सजायका लागि मिसिल पेस गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

उक्त मुद्दामा काले तामाङलाई फरार कायम गर्दै सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा २०७३ असोज ३० गते मुद्दा दर्ता गरेको भेटिएको हो।

प्रहरीले लामो अनुसन्धान र सोधखोजपछि काले तामाङलाई काठमाडौं जिल्ला अदालत पेस गर्दै अदालत उनलाई बैशाख १४ गते पुर्पक्षका लागि कारागार पठाइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्