निरक बिक/बर्दिया। बर्दियाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषधविरुद्ध जिल्ला प्रहरी कार्यालय बर्दियाले गरेको कारबाहीमा ठुलो परिमाणमा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
बर्दिया प्रहरी अनुसार पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-२ ए गाउँका २६ वर्षीय गौरव विक, २३ वर्षीय सन्देश खत्री,गुलरिया नगरपालिका-१ खैरापुरका २६ वर्षीय बिष्णु चौधरी, बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारीका २३ वर्षीय प्रकाश धामी र राजापुर नगरपालिका-४ राजापुर बजारका २० वर्षीय बिकल्प थारू र राजापुर नगरपालिका-९ दक्षिण चैनपुरका २५ वर्षीय आशिष थारू रहेका छन् ।
पक्राउ परेकामध्ये गौरव विक र सन्देश खत्रीलाई बर्दियाको बढैयाताल गाउँपालिका- २ फुटाहबाट ७ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी बिष्णु चौधरीलाई नियन्त्रणमा लिएर बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट भे ३ प ९७१० नम्बरको मोटरसाइकलसहित ५ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।
प्रहरीले प्रकाश धामीलाई बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट २ सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। बिकल्प थारू र आशिष थारूको साथबाट प्रहरीले राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीले बिकल्प र आशिष सवार प्रदेश ३-०२-०१२ प ८५११ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरु ६ जनालाई भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा शुक्रबार दिउँसोदेखि शुक्रबार रातिसम्म पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान जारी रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।